Logo
१५ बैशाख २०८१, शनिबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयद्वारा भारतमा कोरोना बढेसँगै सतर्कता अपनाउन आग्रह

छिमेकी भारतमा पछिल्लो दिन कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयकी प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले बिहीबार सूचना जारी गर्दै कोभिड-१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेकी छन् ।

साथै मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात् बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।

भारतमा कोरोनाको चौथो लहरको सङ्केत देखिन थालेको बताइएको छ । एकै दिनमा सङ्क्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।

भारतमा सङ्क्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्