Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएर नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका छन् ।

धनगढी विमानस्थलमा बिहीबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको जिकिर गरेका हुन् ।

उनले सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएको समेत बताए ।‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रस्ट भइसकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘१३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ । अहिले सकिँदैन ।’

२४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैङ्क फर्किने बाटो गत मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।

मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि नैतिक प्रश्न उब्जिएको थियो ।

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमा त्यस्तो निर्णय भएको बताएका हुन् ।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्