Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमले कमिसन कटौती गरेको भन्दै ग्यास उद्योगीद्वारा एलपी ग्यासको बिक्री बन्द

नेपाल आयल निगमले कमिसन कटौती गरेको भन्दै विरोधमा ग्यास उद्योगीले आजबाट एलपी ग्यासको बिक्री बन्द गरेका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार बिहीबारबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो ।

उक्त कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरुले चैत ५ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गतेबाट सबै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद रोकेका थिए । यस्तै, एलपी ग्याँस उद्योगहरुले चैत १४ गतेदेखि सबै नाकाहरुबाट भन्सार छुटाउने काम रोकेका थिए ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्