Logo
२३ बैशाख २०८१, आईतबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिलोत्तमामा साढे ११ करोडको लगानीमा तयार भएको भ्यु टावर ओलीले आज उद्घाटन गर्दै

लुम्बिनी प्रदेश स्थित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा साढे ११ करोडको लगानीमा निर्माण गरीएको भ्यु टावर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्दैछन् ।

रुपन्देहीको मध्य भागमा रहेको तिलोत्तमा नगरपालिका-२ स्थित सङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा साढे ११ करोडमा भ्यु टावर तयार भएको छ ।

तिलोत्तमा नगरपालिका र सङ्कर नगर वनबिहारको संयुक्त लगानीमा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावर आर्थिक वर्ष २०७३-०७४ मा ठेक्का सम्झौता भएको थियो ।

२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यु टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।

कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ । १० तले भ्यु टावर १ सय ३४ फिट उचाइ छ ।

तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए ।

भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत सङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

लिफ्ट सुविधासहित बनेको भ्यु टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अपिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी वातावरण अनुकूलित कोठा, लाइब्रेरीलगायतका संरचनाहरू बनाइएको छ ।

भ्यु टावरसँगै २ बिगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेसन निर्माण भइरहेको छ ।

त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको छ ।गत चैतमा के एच प्रशान्त जेभीसंग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए ।

बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ ।भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्