Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुको अभावमा नेपाली रेल अब महिनाको १५ दिन मात्रै चल्ने

नेपाली रेल अब एक दिन बिराएर महिनाको १५ दिन मात्रै  गुडाइने भएको छ । पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको हो ।

गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उनले बताए । रेल गुडिरहे पनि आम्दानी भएको छैन ।

महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताए ।रेल गुडाउने अध्यादेश निष्क्रिय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उनले बताए ।

उनले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने बताए । अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने उनले बताए ।

झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रूपमा रेलको उद्घाटन गराउने तयारी भए पनि कानुनकै अभावमा हुन नसकेको बताए ।

जनकपुर–जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो ।

भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन छ । प्रतिघण्टा १ सय १० किलोमिटरको गतिमा गुड्नसक्ने क्षमताको यो रेलले एकटकमा करिब १३ सय यात्रुहरू बोक्न सक्छ ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्