Logo
७ जेष्ठ २०८१, सोमबार
(February 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वस्थानी व्रत आज देवीको पूजा गरी समापन हुँदै

पौष शुक्ल पुर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन हुँदै छ । पौष शुक्ल पुर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले बुधबार व्रत समापन गर्दैछन् ।

पौष शुक्ल पुर्णिमादेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम पनि बुधबार पूराहुन्छ ।

एक महिने व्रत गरेकाहरुले माघ शुक्ल पुर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल , १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने गर्दछन् ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रतको विधि छ ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ

बुधबार मध्याह्नकालपछि विधिपूर्वक पूजालगाई व्रत समापनगरि रातीमा जागराम बसी बिहिबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।

उपत्यकाको पूर्वी भेगस्थित शाली नदी र भक्तपुरको हनुमान घाटमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि बुधबार अश्वमेध यज्ञ गरी समापन गरिँदैछ ।

प्रकाशित मिति: Feb 16, 2022

प्रतिक्रिया दिनुहोस्