Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्रका सूचक खराब रहेको भन्दै ओली गरे सरकारको कडा आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अर्थतन्त्रका सूचक खराब रहेको उल्लेख गर्दै वर्तमान सरकारको कडा आलोचना गरेका छन् । अर्थतन्त्रका सूचकबारे जनताले जान्न पाउनुपर्ने भन्दै उनले यो सरकारका पालामा नै अर्थतन्त्र खराब भएको जिकिर गरे ।

स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘नेपाली जनताले जान्न पाउनुपर्छ अहिले अर्थतन्त्रको अवस्था के छ, लटपट कुरा गरेर हुन्न, देश डुब्दैछ ।’

मुद्रास्फिति ६ वर्षयताकै उच्च रहेको र महँगी बढेको भन्दै उनले सरकारको आलाेचना गरे । सरकार गठन भएको ६ महिनामा ब्यापार घाटा ५५ प्रतिशतले बढेकोमा पनि उनले आपत्ति जनाए । ‘६ महिनामा व्यापार घाटा ८ खर्बभन्दा बढी पुगिसकेको छ, विदेशी मुद्राको सञ्चिति घट्दै गएर साढे ६ महिनाको आयात धान्न नसक्ने स्थितिमा छ’ ओलीले भने । त्यस्तै रेमिट्यान्समा ७ प्रतिशतले कमी आउनुमा पनि सरकारको कमजोरी रहेको उनको भनाइ छ ।

‘हुण्डी र सुन तस्करी फस्टाएको छ, सुशासनको नेतृत्व गर्नुपर्ने अर्थ मन्त्रालय पोलिसी सेटिङमार्फत अपचलनमा लागेको छ’ ओलीले आरोप लगाए । चालु खाता घाटा ६ महिनामा ३ खर्ब नाघेको र बैंकहरुमा तरलताको अभावले व्यवसायको गतिशिलता ठप्प रहेको भन्दै उनले सरकारको आलोचना गरे । उनले ६ महिनामा १३. ४४ प्रतिशत मात्रै पुँजीगत खर्च भएकोमा सरकारको विराेध गरे। प्रदेशमा जथाभावी मन्त्रालय गठन गरिएको र यसले अर्थतन्त्रलाई झन् खराब बनाएको उनको आरोप छ ।

प्रकाशित मिति: Feb 11, 2022

प्रतिक्रिया दिनुहोस्