Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना, स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिएका छन् ।राष्ट्रपति भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’।

साथै प्रधानमन्त्री देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

उनले कोभिड-१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड-१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

 

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्