Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा भोलिबाट मात्रै कोरोनाविरुद्धको बुस्टर डोज दिइने

काठमाडौंमा आज (आइतबार) देखि दिने भनिएको कोरोनाविरुद्धको बुस्टर डोज खोप रोकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देखि फ्रन्टलाइनमा काम गर्नेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको थियो। तर आवश्यक तयारी नपुगेपछि खोप सुरु हुन सकेको छैन।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य अपूर्ति व्यवस्थापन केन्द्र र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोजको खोपको व्यवस्थापन गर्न भनेपनि सम्बन्धित कार्यालयहरूले व्यवस्थापन नगर्दा आजदेखि दिने भनिएको बुस्टर डोज रोकिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले व्यवस्थापनमा समय लागेकाले आज बुस्टर डोज दिन नसकिएको बताएको छ। ‘आवश्यक व्यवस्थापन गर्न समय लागेकाले आज बुस्टर दिन सकिएन, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले भने। सबै खोप केन्द्रहरुलाई आज परिपत्र गरिसकेका छौँ भोलीदेखि नियमित खोप सञ्चालन भइरहेकै ठाँउबाट खोप दिन्छौ,’ उनले भने।

उनका अनुसार काठमाडौंका १३ अस्पताल र चार नाकाबाट बुस्टर डोज दिइनेछ। बुस्टर डोज लगाउन पहिले लगाएको खोप कार्ड अनिवार्य लिएर जानुपर्ने छ।

सरकारले स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलाई बुस्टर डोज दिने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्