Logo
५ जेष्ठ २०८१, शनिबार
(January 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ जनामा ओमिक्रोन पुष्टि भएलगत्तै अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएको पाइएपछि यसका कारण हुन सक्ने बिरामीको चापलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अरू सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा सङ्क्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ ।

काठमाण्डौका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस–जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणको दर पनि बढिरहेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न अनुरोध पनि गरेको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति: Jan 7, 2022

प्रतिक्रिया दिनुहोस्