Logo
२२ बैशाख २०८१, शनिबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्ने बताएका छन् ।

आजगृह मन्त्रालयमा भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उनले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

साथै उनले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्।गृहमन्त्री खाँणले भने, ‘भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठुलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनः निर्माणका काम अझै भइरहेका छन् ।’

भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्ण पालना गरिनुपर्नेमा जोड दिँदै उनले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भने ।

सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ ।

विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले २४ औँ भूकम्प दिवसका लागि प्रस्तावित र तय गरिएका समग्र कार्यक्रम र बजेटबारे जानकारी दिए ।

भूकम्प दिवसलाई सफल तुल्याउन राष्ट्रिय सञ्चारमाध्यममा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्व तयारी तथा प्रतिकार्यसम्बन्धी लेख रचना, सार्वजनिक सन्देश प्रकाशन र प्रसारण गर्ने कार्यक्रम तय भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी डिजिटल प्रचारप्रसार सामग्री वितरण, रेडियो र टेलिभिजनमा भूकम्पीय जोखिम न्यूनीकरण परिसंवाद र अन्तर्क्रिया, काठमाडौँ उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहमा भूकम्प स्मृति सभा गर्ने कार्यक्रम बनाइएको छ ।

काठमाडौँ महानगरपालिकाले माघ २ गते भूगोलपार्कमा भूकम्प स्मृति सभा गर्नेछ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जन धनको रक्षा’ भन्ने छ ।

दिवसका अवसरमा विपद् पुस्तिका लोकार्पण, भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी, सडक नाटक प्रदर्शनी र भूकम्पीय सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठीका अतिरिक्त र्याली एवं झाँकीसमेत प्रदर्शन हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, प्रदेश, स्थानीय, जिल्ला प्रशासनको समन्वय र सहभागितामा मुलुकभर भूकम्प सुरक्षा दिवससम्बन्धी विभिन्न कार्यक्रम हुनेछ ।

 

 

 

 

 

 

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्