Logo
५ जेष्ठ २०८१, शनिबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नामकरणमा दलहरुबीच एकता जुटेन, ‘मधेश’ नाम सहित चार प्रस्ताव पेश

प्रदेश २ को नामकरणका लागि प्रदेश सभामा चार वटा प्रस्ताव पेश गरिएका छन्।

बिहीबार बसेको प्रदेश सभा बैठकमा ‘मधेश’, ‘जानकी’, ‘मध्यमधेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश भएका छन्। सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले ‘मधेश’ नाम प्रस्ताव गरेका हुन् भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ।

त्यस्तै, अर्को सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ को नाम ‘जानकी’ प्रस्ताव गरेको छ। कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ भने कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले ‘मध्यमधेश’ नाम प्रस्ताव पेश गरेका छन्।

प्रदेश सभामा आफनो प्रस्ताव पेश गर्दै जसपाका सचेतक शैलेन्द्र यादवले मधेशी जनताको अधिकार र पहिचानका लागि मधेश नाम नै उपयुक्त रहेको बताए। उनले यसका लागि मधेशी जनताले आन्दोलनको र शहादत दिएको बताए।

माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश २ को नाम मधेस प्रदेश हुनुपर्नेमा जोड दिए। प्रस्तावको समर्थन गर्दै माओवादीका नेता जगत यादवले मधेशीको पहिचान स्थापित गराउनका लागि मधेस प्रदेशको पक्षमा रहेको बताए।

एकीकृत समावादीका नेता प्रमोद यादवले प्रदेशको नाम ‘जानकी’ नै उपयुक्त हुने बताए। जानकीसँग यो प्रदेशको पहिचान जोडिएकाले त्यो नाम प्रस्ताव गरिएको उनको भनाइ थियो।

काग्रेस सांसद शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा’ नाम हुनुपर्नेमा जोड दिए। उनको प्रस्तावलाई समर्थन गर्दै काग्रेस केन्द्रीय सदस्य समेत रहेकी प्रदेश सभा सदस्य मंजु यादवले प्रदेशको नाम ‘मिथिला र भोजपुरा’ राख्दा सबै उपयुक्त हुने बताइन्।

छुट्टै प्रस्ताव पेश गरेका काग्रेस साहले भने प्रदेशको नाम ‘मध्य मधेस’ राख्दा उपयुक्त हुने बताए।

नेकपा (एमाले)ले पनि छुट्टै प्रस्ताव पेश गर्ने तयारी गरेको थियो। एमाले सांस्द शारदा थापाले नामकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख सरोज यादवले जानकारी दिए।

 

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्