Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसामा दुबई गएका धादिङका १९ जना अलपत्र

भिजिट भिसामा दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् ।

धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताए ।

नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए ।

२५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रवासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ । वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले समस्या भोगिरहेकोले कामका लागि कसैलाई पनि भिजिट भिसामा नजान दुवाडीले आग्रह गरेका छन् ।

अलपत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्