Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गलत रिपोर्ट दिने चिकित्सकलाई पीडितलाई ६ लाख क्षतिपूर्ति दिन सर्वोच्चको आदेश

पीडितलाई स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने  चिकित्सक र ल्याबलाई ६ लाख क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

स्वास्थ्य परीक्षणको गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको हो ।

सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिका डा. बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल गएका थिए ।

त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि बस्नेतलाई नेपाल फर्काइएको थियो । न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ ।

डा. बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेशनल क्लिनिकले पीडित किरण बस्नेतको स्वास्थ्य परीक्षण गर्ने क्रममा हेलचेक्र्याईं एवं लापरवाही गरेकाले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति व्यहोर्नुपरेको देखियो ।’

सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो । चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरेको हो ।

२०७२ साल माघ ७ गते सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ हालै तयार भएको हो । नेपालमा निरोगिताको गलत प्रमाण पत्र उपलब्ध गराएको हुनाले इजरायल पुगेपछि स्वदेश फिर्ता हुनुपरेको भन्दै उनले कानूनी उपचार खोजेका थिए ।

स्वास्थ्य परीक्षणका क्रममा अनुचित क्रियाकलाप तथा सेवा प्रदान गर्दा भएको लापरवाहीले मानसिक, भौतिक एवं आर्थिक क्षति भएको भन्दै उनले २४ लाख १० हजार क्षतिपूर्ति मागदावी सहित निवेदन दिए ।

 

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्