Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौडेल समूहको निष्कर्ष : सभापति उम्मेदवारको छिनोफानो गर्ने जिम्मा रामचन्द्र र शंशाकलाई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले सभापति साझा उम्मेदवारको छिनोफानो अब रामचन्द्र पौडेल र शंशाक कोइरालाले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले १४ औ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको हो ।बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि शुरु भए पनि सो समूहबाट सभापतिका उम्मेदवारहरू भनिएका नेताहरू कोही पनि आएनन् ।

महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बैठक बोलाइएकोमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बने ।

बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने अनुपस्थित रहे । अरू नेताहरू नआएपछि पौडेल पनि बैठकस्थलबाट बाहिरिएका थिए ।

वरिष्ठ नेताले संयोजन गरेको आजको बैठकमा समूह निकट रहेका केन्द्रीय सदस्य, नवनिर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व सभापतिहरू सहभागी थिए । बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा आएको थियो ।

बैठकमा सहभागी नेताहरूले व्यक्तिको नाममा समूहलाई विभाजन गर्न नहुने बताएका थिए । केन्द्रीय सदस्यहरूको पनि समान धारणा रहेको बैठकमा सहभागी एक नेताले भने ।

ति नेताले भने ‘साझा उम्मेदवार तय गर्दा रामचन्द्र पौडेल र शशांक कोइरालाले ब्याक हुन्छु भन्नु भएको हो भने अब शेखर कोइराला र प्रकाशमान श्रेष्ठमध्ये कसलाई साझा उम्मेदवार तय गर्ने हो भन्ने वहाँहरूले नै बताउनुपर्छ,’

शेखर र प्रकाशमानका गृह जिल्लाका सभापतिहरूले भने दुई नेता नै अध्यक्षको दाबेदार हुनुपर्ने अडान राखेका थिए । शेखरको गृह जिल्ला मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु र प्रकाशमानको गृह जिल्ला काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले आ–आफ्ना नेताहरूको पक्षमा धारणा राखेका थिए ।

 

 

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्