Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ : ३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुख समक्ष सोमबार साँझ ७ :३० बजे राजीनामा दिएका थिए ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांग्रेस सोही सहमतिअनुसार पहिलो पटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।

प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्न २४ घण्टाको समय दिएका हुन् ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् । माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बिच भएको सहमतिअनुसार काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ ।

 

 

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्