Logo
५ जेष्ठ २०८१, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब काका ससुराले पनि मिर्गौला दिन पाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका-ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश दिएको छ ।

न्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले मानव अंग प्रत्यारोपण केन्द्रको निर्णय बदर गर्दै मिर्गौला-दान गर्न दिनु भनी आदेश गरेको हो ।

सर्वोच्च अदालतले मिर्गौला दान गर्न काका ससुराको मन्जुरी भएको र त्यो कामलाई रोक्नुपर्ने आधारभूत कारण नभएको उल्लेख गरेको छ ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ ।

अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो ।

काका-ससुरा मिर्गौला दान गर्न राजी हुँदा पनि प्रत्यारोपण गर्न नपाएपछि ती बिरामीले अस्पतालको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

काका ससुराले स्वेच्छिक रुपमा दान गरी बुहारीको जीवन रक्षामा योगदान पुयाउने पवित्र मानवीय दृष्टिकोणबाट वञ्चित गर्न नमिल्ने सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।

आदेशमा भनिएको छ, ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८ साउन २२ गतेको पत्र र त्यससँग सम्बन्धित निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हने ठहर्छ ।’

सर्वोच्चले मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानूनी व्यवस्था गर्नुपर्ने औल्याएको छ । अनि मिर्गौला प्रत्यारोपणका क्रममा चिकित्सकिय रित पुर्‍याउन आदेश दिएको छ ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्