Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज विराटनगरमा राधाकृष्ण खटयात्रा निकालिंदै, प्रदेश १ का तीन जिल्लामा सार्वजनिक विदा

आज विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा निकालिंदैछ । विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो ।

२०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि बजार परिक्रमा गराउने परम्परा छ । तर कोरोना महामारीका कारण यो वर्ष खटयात्रा मात्रै गरिने आयोजक समितिले बताएको छ ।

खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।कोरोना महामारीका कारण गत वर्ष पनि खटयात्रा मात्रै गरिएको थियो । यो वर्ष पनि रथयात्रा गर्दा जोखिम हुने भएकाले खटयात्रा निकाल्ने निर्णय भएको समितिले बतायो ।

राधाकृष्ण युगल जोडीको मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा फर्किएर यात्रा समापन हुनेछ ।

यसअघि मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोकबाट बरगाछी, पानीटङ्की हुँदै मन्दिर परिसरमा पुगेर समापन हुने गरेको थियो ।

रथयात्रामा नेपालसहित भारतका विभिन्न स्थानबाट पनि दर्शनार्थी आउने गरेका थिए । विराटनगरको इतिहास र धार्मिक एवं सांस्कृतिक परिवेशसँग जोडिएको रथयात्रा कोरोना महामारीका कारण परम्पराको निरन्तरताका लागि खटयात्रामा सीमित गर्नु परेको समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्