Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयक तत्काल रोक्न कर्मचारी संगठनको माग

 नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्था बनाउने सरकारको तयारीप्रति असहमती जनाउँदै आएका कर्मचारीहरु संगठित रुपमै आन्दोलित भएका छन् ।

सरकारले ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा जाने क्रममा रहेको भन्दै प्राधिकरणमा क्रियाशील ट्रेड युनियनकर्मी, पेशागत संगठनहरुले विधेयक तत्काल फिर्ता गर्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

ज्ञापनपत्र जारी गर्दै संगठनहरुले घोषित कार्यक्रम अनुसार श्रावण २५ देखि २७ गतेसम्म विहान १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने, १२ बजेदेखि १ बजेसम्म कालोपट्टीसहित महानिर्देशकको कार्यकक्षमा घेराउ गर्ने, २८ गतेबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने घोषणा गरेको छ ।

विभिन्न पाँच वाट पेशागत संगठनद्वारा जारी ज्ञापनपत्रमा विधेयक जे जस्तो अवस्थामा छ त्यही स्थगन गरी माग सम्बोधन नभएमा पुनः अर्काे बैठक बसी थप कडा भन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उल्लेख छ ।

राष्ट्रको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाएर समग्र हवाई सेवालाई महंगो बनाउने र आम नागरिकहरुलाई त्यसको भार पार्ने गरी योजनाबद्ध तबरले ल्याएको संगठनको आरोप छ ।

भर्खरै सुदृढ हुँदै गएको प्राधिकरणलाई टुक्राएर कमजोर संस्थामा रुपान्तरण गर्दा स्वार्थ समूहको चलखेल तथा मुनाफाखोरी बढ्न सक्ने खतरा बढेकाले आन्दोलित हुनुपरेको मधेश तराई कर्मचारी युनियनका अध्यक्ष अनिल कुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्