Logo
२४ बैशाख २०८१, सोमबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र भीम रावलबीच भेटवार्ता

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। शनिवार अपराह्न शितलनिवासमा राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो।

उनीहरूबीच करिब एक घण्टा वार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालनिकटका नेता रावलले लामो समयदेखि एमाले भित्रको अन्तर्द्वन्द्वकै बीच राष्ट्रपतिलाई भेट्नु अर्थपूर्णरुपमा हेरिएको छ ।

एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच द्वन्द्व हुँदा पार्टी दुई खेमामा विभाजन भएको छ । पार्टी एकताका लागि नेपाल पक्ष र ओली पक्षका नेताहरूको १० सदस्यीय कार्यदल पनि गठन गरिएको थियो ।

कार्यदलकै सदस्य भीम रावल पनि हुन् । कार्यदलले पार्टी एकताका लागि दश बुँदे सहमति पनि गरेका थिए । तर वरिष्ठ नेता नेपालले उक्त १० बुँदे सहमति आफू अनुकूल नभएको भन्दै असहमति जनाइरहेका छन् ।

नेपाल पक्षले स्थायी र केन्द्रीय कमिटी बैठक गर्दै सकेसम्म पार्टी एकताकै पक्षमा रहेको बताएको छ भने अध्यक्ष ओली पक्षले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेपाल पक्षका केही नेताहरू सरकारमा सहभागी हुने भन्दै पार्टी एकताको पक्षमा देखिएका छैनन् । भने भीम रावललगायत कार्यदलका सदस्यसहितका नेताहरूले पार्टी एकता नै एमालेको सकारात्मक बिन्दु रहेको भन्दै एकताको प्रयासमा जुटिरहेका छन् ।

यता नेपाल पक्षको निर्णय नआएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् । नेपाल पक्षले सरकारमा आए ६ वटा मन्त्रालय दिने देउवाको तयारी छ ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्