Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल पार्टी अध्यक्ष ओलीलाई भेट्न माधव नेपाल ‘अनिच्छुक’ !

तत्काल आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माधव नेपाल अनिच्छुक देखिएका छन ।

दुई नेताहरुलाई भेट गराउने तयारी दोस्रो पुस्ताले गरिरहेका बेला नेता नेपालले सर्त नै सर्त आघि सारेपछि उनी अनिच्छुक नै रहेको देखिएको छ ।

एमाले एकताका लागि संवाद अघि बढाउने हो भने पहिले ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदम गलत भएको निचोडसहित ओलीले आत्मालोचना गर्नुपर्ने सर्त सारेका हुन् ।

‘बहुमत प्राप्त सरकार हुँदा हुँदै संसद विघटन गरेर गलत गरेको कुरामा उहाँले पहिला आत्मालोचना गर्नुपर्‍यो,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यदि त्यसो भएमा ओलीजीसँग मेरो भेट हुनेछ।’

नेकपा एमालेभित्र २०७७ फागुन २८ पछि विवाद चर्किँदै गएको छ। ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ गते दुई पटक प्रतिनिधिसभा विघटन गरिदिएका थिए। दुवै पटक सर्वोच्च अदालतले उनको कदमलाई असंवैधानिक ठहर गरेको थियो।

संसद विघटनदेखि बढेको विवादकै कारण नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेदेखि विश्वासको मत समेत दिएका छन्।

एमालेको दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियतामा दुई नेताको भेटघाट तयारी भएको छ। असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमतिकै आधारमा दुई नेताबीच थप सहमति जुटाउने कोसिसमा नेताहरु लागेका छन्।

एमाले स्रोतका अनुसार दुवै पक्षका कार्यदल संयोजक भीम रावल र सुवास नेम्वाङसहित विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पनि ओली-नेपाल भेट गराएर सहमतिको बिन्दु पहिल्याउन लागेका हुन्। असार २७ को १० बुँदे सहमतिमै टेकेर दुई नेताबीच सहमतिका लागि दोस्रो तहका नेता जुटेका हुन्।

एमालेलाई एक बनाएर अघि बढाउन ओली-नेपालबीच शक्ति बाँडफाँटमा सहति जुटाउने गरी भेटघाटको तयारी भइरहेको छ। एमाले उपनेता सुवास नेम्वाङले अध्यक्ष ओलीसँग भेट्न वरिष्ठ नेता नेपाल तयार भएको बताएका छन्।

पार्टीलाई फुटबाट जोगाउन दुई नेताहरुबीच मंगलबार छलफल गराउने तयारी दोस्रो पक्षका नेताले गरेका छन्। नेता नेपालले भने संसद विघटन गर्ने कदमप्रति आत्मालोचना गरेर माफी नै माग्नुपर्ने सर्त तेर्स्याएका हुन्।

अध्यक्ष ओली र नेता नेपालबीच यसअघि होटेल मेरियट र व्यवसायी क्याप्टेन रामेश्वर थापा निवासमा भेट भइसकेको छ। तर उनीहरुबीच ती भेटमा कुरो मिल्न सकेको थिएन।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्