Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले अध्यक्ष नछोडेसम्म एमाले एकता हुन सक्दैन : रामकुमारी झाँक्री

नेकपा एमाले माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष पद नछाडेसम्म पार्टी एक हुन नसक्ने बताएकी छन्। माधव पक्षीय अखिल फोर्सको बृहत् भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा सांसद समेत रहेकी झाँक्रीले ओलीले आत्मालोचनासहित अध्यक्ष पद त्यागे मात्रै पार्टी एक हुन सक्ने जिकिर गरेकी हुन्।

मुलुकको राजनीतिलाई अहिलेको संकटपूर्ण स्थितिमा पुर्याउनेले मूलधारबाट विश्राम नलिएसम्म एमाले एकता असम्भव रहेको जिकिर उनले गरेकी छन्। ‘नेपालको राजनीतिलाई आजको जटिल स्थितिमा पुर्याउनेहरु ‘मेनस्ट्रिम’बाट बाहिरिएपछि एमाले मिल्छ’, उनले भनिन्, ‘पार्टी एकता बचाउने शर्तमा अध्यक्ष पद छाड्नुपर्छ। अनि मात्रै एमाले एक रहिरहन सक्छ।’

ओलीप्रति आक्रोशित हुँदै झाँक्रीले प्रतिगामीले प्रायश्चित नगरी एकताको कुरा गर्नुको अर्थ नरहेको पनि बताइन्। ‘प्रतिगामीले सामान्य प्रायश्चित नगरी कुममा कुम जोडाएर मात्रै एकता हुँदैन’, उनले भनिन्, ‘यस्तो एकताले चुनावमा जनताले भोट हाल्छन्? राजनीति भन्ने एउटा, गर्ने अर्कै हो ?’

उनले आफू एमाले एकताकै पक्षमा रहेको पनि बताइन्। तर कम्युनिष्ट आन्दोलन विसर्जन गर्नेको पनि हिसाब हुनुपर्ने उनको जिकिर थियो। ‘दुईतिहाइ बहुमत नजिकको कम्युनिष्ट आन्दोलन कसले विसर्जन गर्‍यो?’, उनले सोधेकी छन्, ‘पुस ५ र जेठ ७ मा भएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन कि जनादेश भन्ने कुरा प्रष्ट हुनुपर्छ।’

संसद विघटनबारे एमालेमै दुई थरी तर्क रहेको उनको भनाइ थियो। ‘संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत एमालेमै रहेको छ। यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ?’, उनको प्रश्न थियो, ‘प्रतिनिधिसभा विघटन प्रतिगमन हो कि जनादेश प्राप्त अधिकार हो? हामी एउटै पार्टीमा हुन पनि यसबारे समान धारणा बनाउनु आवश्यक छ।’

प्रकाशित मिति: Jul 31, 2021

प्रतिक्रिया दिनुहोस्