Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा निषेधाज्ञा : केही क्षेत्र खुकुलो गर्दै एकसाता थपियो

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।

थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ ।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।

हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् ।

शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्