Logo
२२ बैशाख २०८१, शनिबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट मेडिकलको दोहोरो चाल : बिरामीसँग शुल्क तिराएर सरकारसँग पनि सम्झौता-सुविधा माग

प्रदेश १ स्थित बिराटनगरको विराट मेडिकल अस्पतालको दोहोरो प्रवृति सार्वजनिक भएको छ । सरकारसँग कोविड अस्पतालको रुपमा सम्झौता गरी बिरामीसँग शुल्क तिराएर सरकारसँग पनि सम्झौता अनुसारको सुविधा मागिएको खुलेको हो ।

सुनसरी इनरुवा-२ का रामजी महतो कोइरीको अस्पतालमा भर्ना भएको १३ दिनपछि गत जेठ ९ गते मृत्यु भएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरेको बिराटले ६ लाख भन्दा बढी बिल आफन्त नितेष महतोलाई थमाएको थियो ।

उनका छोरा नितेषले अस्पतालले थमाएको बिल बराबरको रकम भुक्तानी गरेर शव लगी अन्तिम संस्कार गरेका थिए ।

तर अस्पतालले उक्त बिरामीको निशुल्क उपचार गरेको भन्दै सरकारसँग सम्झौता बमोजिमको भुक्तानी मागेपछि अस्पतालको रहस्य खुलेको हो ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयले बिरामीका आफन्तहरुलाई सम्पर्क गरी भेरीफाई गर्दा उक्त रहस्य खुलेको हो ।

मन्त्रालयका प्रवक्ता समेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकडा. कृष्ण प्रसाद पौडेलले अस्पतालहरुले बिरामी पक्षसँग पनि भुक्तानी लिएरको र सरकारसँग पनि लिने गरिएको गुनासो आएपछि मन्त्रालयले भेरिफाई गर्न थालेको बताए ।

प्रवक्ता पौडेलका अनुसार त्यस्तो पाइएको अस्पताललाई कडा करवाही हुनेछ । तर अस्पतालहरुले कोविडको नभई अन्य बिरामीको उपाचार गरेको भन्दै सरकारसँग भुक्तानी मागिने गरिएको छ यद्यपी यसबारे छानबिन जारी रहेको उनले बताए ।

उता उक्त बिरामी पक्षका नितेषले जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमाणसहित उजुरी दिएका छन् ।

आफूलाई लाखौं तिराएको तर सोही कागजातहरु पेसगरी सरकारसँग समेत सुविधा रकम माग गरेपछि आफूले उक्त उजुरी दिएको उनले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले  कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन कारवाही अगाडी बढाएको छ ।

संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तलाई अस्पताल प्रशासनले थमाएको बिल अप्रत्यासित देखिएपछि जिल्ला प्रशासन कार्यालयले उक्त शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिएको प्रजिअ अधिकारी कोशहरी निरौलाले बताए ।

विराटले लिएको उपचार शुल्क अनुचित रहेको ठहर गर्दै तत्काल फिर्ता गरि सोको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन लिखितरुपमै निर्देशन दिएको प्रजिअ निरौलाले बताए ।

यद्यपी विराट मेडिकल अस्पतालका प्रशासन प्रमुख सुनिल देवले आफूहरुले उक्त बिरामीको कोविडको नभई अन्य रोगको गरेको उपचारको रकम सरकारसँग मागिएको बताए ।

‘रामजी मेहता कोविड संक्रमित देखिएपनि उनी अन्य बिरामीबाट पनि ग्रसित थिए । हामिले हरसम्भव इलाज गरियौं, तर बचाउन सकेनौं’ उनले भने उहाँको अन्य उपचार वापतको रकम हामिले राज्यसँग मागेका हौं ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्