Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोको समर्थनमा ८१ संघ-संस्थाद्वारा विज्ञप्ती जारी : बहुलराष्ट्रिय राज्यको माग विखण्डन होइन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई समर्थन गर्दै ८१ ओटा संघ संस्थाले विज्ञप्ती जारी गरेका छन् ।

महतोले नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिलाई समर्थन गर्दै विभिन्न क्षेत्रगत ८१ संघ-संस्थाका प्रतिनिधिले आइतबार विज्ञप्ति जारी गरेका हुन् ।

उपप्रधानमन्त्री महतोको सो अभिव्यक्ति ‘जायज’ भन्दै उनीहरुले ‘उच्च हिन्दुवर्ण अहंकार तथा औपनिवेशिक मानसिकता बोकेका केही राजनीतिक पार्टीका नेताहरुले बहुलराष्ट्रिय राज्यको मागलाई अनर्गलरुपमा राज्य विखण्डनसँग जोडेर आरोपित गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साझा वंश, इतिहास, संस्कृति, भाषा र साझा क्षेत्र वा भूगोलमा आवाद गरेका जनताहरुको समहुलाई ‘राष्ट्र’ भनिने उनीहरुको जिकिर छ ।

नेपालको जनगणना २०६८ ले नेपालमा १२५ भन्दा बढी राष्ट्र/जातीहरु रहेको उल्लेख गर्दै उनीहरुले पृथ्वीनारायण शाहको गोर्खा साम्राज्य विस्तार भएपछि सैन्य बल प्रयोग गरेर यहाँका बहुलराष्ट्रहरु माथि जातीय संहारमार्फत एकलराष्ट्रिय राज्य बनाउने काम भएको जनाएका छन् ।

‘गोर्खालीहरुको यस्तो एकल राष्ट्रिय राज्य गणतन्त्रमा पनि कायम रहनु भनेको आन्तरिक औपनिवेशिकता हो,’ विज्ञप्तिमा उनीहरुले भनेका छन् ।

‘हिजो गणतन्त्र र संघीयताले देश टुक्रिन्छ भन्नेहरु आज नयाँ राजाका रुपमा आसिन छन् र तिनैले फेरि आज बहुलराष्ट्रिय राज्यप्रति अफवाह फैलाइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

बहुलराष्ट्रिय राज्य बोलिभिया र एक्वेडरको उदाहरण दिँदै उनीहरुले ती मुलुक नटुक्रिएको, बरु अझ सशक्त रुपमा विश्वकै तीव्र गतिको आर्थिक विकास हासिल गरिरहेको जिकिर गरेका छन् ।

उनीहरुले आन्तरिक औपनिवेशिकता मुक्त बहुलराष्ट्रिय राज्यप्रति प्रतिवद्ध हुन राज्यविहीन राष्ट्रहरुलाई आह्वानसमेत गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेमा पूर्वमन्त्रीद्वय डा. केशवमान शाक्य र शिवलाल थापा, पूर्वराजदूत डा. गणेश योन्जन लगायत ८१ जना छन् ।

हेर्नुस् विज्ञप्ती :

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्