Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसद्वारा निर्दलीय अभ्यास भयो भन्नेले संविधान पढ्नुस् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्दा निर्दलीय अभ्यास नभएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनका ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै उनले भने, ‘केहीले निर्दलीय अभ्यास भएको भन्नुभयो । उहाँहरुलाई नेपालको संविधान पढ्न भन्न चाहन्छु । संविधानको धारा ७६ को ५ मा कुनै पार्टी भनेको छैन । प्रतिनिधिसभा सदस्य भनेको छ ।’

उनले आफूले बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गर्दा पनि राष्ट्रपतिले संसद विघटन गरेर गर्न नपर्ने काम गरेको बताए । ‘हामीले बहुमतभन्दा बढी सदस्यको सरकार गठनका लागि दाबी बुझाएका थियौँ । तर राष्ट्रपतिले मध्यराति संसद विघटन गर्नुभयो । नगर्नुपर्ने काम गर्नुभएको छ,’ देउवा भन्छन् ।

राष्ट्रपतिबाट असंवैधानिक काम भएकाले आफुहरु सर्वोच्च गएको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्रीले भन्दैमा राष्ट्रपतिले असंवैधानिक काम गर्नुहुँदैन । हामी विरोध गर्दै सर्वोच्च गएका छौँ । सर्वोच्च अदालतले संविधान अनुसार फैसला गर्नेछ ।’

लोकतन्त्रमाथि नै खतरा भएकाले काँग्रेस सर्वोच्चमा गएको देउवाले बताए । उनले भने,’कोरोना महामारीका कारण सडकमा जान सकेका छैनौँ । मिडिया जगतले जनमत सिर्जना गर्नुपर्यो ।’ संविधानको रक्षाको पक्षमा उभिन नेपाली पत्रकार जगतलाई देउवाको आह्वान छ ।

संविधानमाथिको हस्तक्षेप स्वतन्त्र न्यायपालिकाले रोक्ने उनको विश्वास छ । देउवाले भने, अदालत स्वतन्त्र न्यायपालिका हो । संविधानको माथिको हस्तक्षेप रोक्ने हाम्रो विश्वास छ । ओली सरकार र विद्या भण्डारीले नहुने काम गर्नुभएको छ ।

यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संविधान रक्षा काँग्रेसको प्रमुख जिम्मेवारी भएको बताए । संविधानको रक्षाका लागि पत्रकार जगत पनि जागरुक हुनुपर्ने उनको भनाइ थियो । कोरोना महामारीबाट जनताको रक्षा, संविधानको रक्षा, नेपाली काँग्रेस बचाउने दायित्व आएको पौडेलले बताए ।

उनले भने, ‘लोकतन्त्र बचाएर राष्ट्र बचाउने जिम्मेवारी छ । काँग्रेस एकताबद्ध र सक्षम हुन सकेन भने हामी त्यो जिम्मेवारी पुरा गर्न सक्दैनौँ,’ उनले भने ।

यस्तै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापति देउवाझैँ काँग्रेसले निर्दलीय अभ्यास गर्यो भन्न नहुने बताए । उनले भने, ‘प्रतिनिधिसभामा दलले सरकार बनाउन नसक्ने अवस्था आएर सांसदलाई अवसर प्रधान गरेको छ ।’

सरकार चलाउने जिम्मेवारी पाएकाहरू असफल भएपछि काँग्रेसले सत्ता राजनीतिमा प्रवेश गर्ने अवस्था आएको बताए । उनले भने, ‘काँग्रेसले हरेक पटक भन्यो हामी प्रतिपक्षमै बस्छौँ । तर प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस सरकार बनाउन प्रयत्न गरेको हो । भीरबाट झर्दै गरेको संसदीय व्यवस्था बचाउने काँग्रेसको जिम्मेवारी हो ।’

कोरोना महामारीमा सत्ताको खेल भइरहेको भन्दै भएको आलोचनाप्रति लक्षित गर्दै शर्माले भने, ‘हामी सत्ताको खेलमा छैनौं । सरकार चलाउन जिम्मेवारी पाएकाले चलाउन नसकेपछि काँग्रेस अगाडि आएको हो ।’

ओली सरकारले एक वर्ष सत्ता राजनीतिमा समय खेर फालेको भन्दै नागरिकको जीवन रक्षाप्रति सरकार गम्भीर नभएकाले आफै सजग रहनुपर्ने बताए । प्रधानमन्त्रीको एक वर्षको काम सत्ताको रक्षामा केन्द्रित भएको शर्माको भनाइ छ ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्