Logo
३१ बैशाख २०८१, सोमबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरी प्रवेश

मिथिला माध्यमिकी यात्राका सहभागी आज चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।

तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरु भएको हो ।

यसअघि गत शनिबार धनुषाको ठेराकचुरीबाट यात्रा शुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् ।

गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा (नेपाल-भारत सीमा) कटेर नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले हार्दिक स्वागत गरेका छन् ।

अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पङ्क्ति देखिएको छ ।आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी आज चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् ।

विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा राखिएको डोली) आइपुगेपछि वरिपरिका भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजनकीर्तनसहित धार्मिक मेला आयोजना हुने परम्परा छ ।

यात्रीहरूको भोजन, आवास, खानेपानी, प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध रहेको मटिहानी नगरप्रमुख मण्डलको भनाइ छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौँ दिनसम्म महोत्तरीमा रहने छन् । चौथो दिन मटिहानी, पाँचौ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ ।

अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा अठारौँ शताब्दीमा शुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।

रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ ।

सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ९प्रधानाध्यापक० ईश्वरीप्रसाद पौडेल बताउछन् ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास कोष र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन् ।

फागुन औँशीबाट शुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ ।

यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्