Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप क्रान्तिको तयारीका साथ नेपालमा फेरि बन्दुक उठ्छ : मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा फेरि बन्दुक उठ्ने बताएका छन् । उनले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका हुन् ।

महासचिव वैद्यले मधेसी, मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरू संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो ।

विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ रु शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ रु बन्दुक उठ्छ ।’

 

 

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्