Logo
९ जेष्ठ २०८१, बुधबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवरात्रिमा मास्कबिना पशुपतिनाथको मन्दिरमा प्रवेश निषेध

मास्क नलगाउने भक्तजनहरुलाई शिवरात्रिमा पशुपतिनाथको मन्दिरमा प्रवेश गर्न रोक लगाएको छ ।

कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हो । यस्तै भोलि परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीब्र पारेको छ ।

शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने कोषले जनाएको छ ।

कोषका अनुसार मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषले जानकरी दिएको छ ।

आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीनरतीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने अनुमान छ ।

भोलिको शिवरात्रिका लागि झण्डै तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेका कोषले जनाएको छ ।शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आजैदेखि झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विगत वर्षमा जस्तो यसपालि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ । ज्येष्ठ नागरिकका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका शिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छन् । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्