Logo
५ जेष्ठ २०८१, शनिबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थमा फेरि भाउ बढ्यो : पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँ वृद्धि

नेपालमा फेरि पेट्रोलियम पदार्थको भाउ बढेको छ ।नेपाल आयल निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको ११६ रूपैयाँ, अनि डिजेल र मट्टितेल लिटरको ९९ रूपैयाँ पुगेको छ । यस्तै निगमले हवाई इन्धनको पनि भाउ बढाएको छ ।

निगमले आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ ।यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको निगमले जनाएको छ ।मूल्य वृद्धिपछिको बिक्री दरमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनसम्ममा निगमलाई एक अर्ब ३२ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि भइरहेकाले निगमले चर्को घाटा सहनुपरेको दाबी गर्दै आएको छ  । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले १ मार्च बाट मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्