निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ र अहिलेको राजनीतिक तरलता हट्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको बताएका छन् ।
यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्नेमा उनले जोड दिए ।मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे ।
उनले भने, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।”
नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो । उनले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताए ।