Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै नेपालीलाई कोभिड खोप निशूल्क : थप खोप किन्न अर्थ मन्त्रालयले दियो ५० करोड !

कोरोना भाइरस संक्रमणविरुद्धको खोप किन्न अर्थ मन्त्रालयले थप ५० करोड रुपैयाँ बजेट प्रदान गरेको छ।

यसअघि मन्त्रालयले ५० करोड दिएको थियो। योसँगै कोरोना खोपका लागि १ अर्ब रुपैयाँ बजेट स्वीकृत भएको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग २० लाख मात्रा कोरोना खोप किन्ने निर्णय गरेको थियो।

उक्त निर्णयसँगै मन्त्रालयले थप बजेटको व्यवस्था गरिदिएको स्राेतले जानकारी दिएकाे हो। नेपालले भारतसँग प्रतिमात्रा ४ अमेरिकी डलरमा उक्त खोप किन्नलागेको हो।

सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खोप खरिद गरिनेछ। अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड नामक खोप केही समयअघि भारतले अनुदानमा १० लाख डोज खोप सहयोग गरेको थियो।

अनुदानको खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर योगदान गर्नेलाई प्राथमिकतासाथ लगाइरहिएको छ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सबै १४ वर्षमाथि नेपाली नागरिकलाई निःशुल्क खोप वितरण गर्ने घोषणा गरेका थिए।

कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न सरकारले ४० अर्ब रुपैयाँ जुटाएको छ। खोप निःशुल्क लगाउन ४८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ।

अर्थ मन्त्रालयले विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी)सँगको सहकार्यमा सरकारले ४० अर्ब प्रतिबद्धता ल्याएको छ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्