Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिस्टहरुको एकतामा दक्षिणपन्थी कित्ताबाट प्रहार भयो : प्रचण्ड (भिडियो सहित)

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले, नेपाली कम्युनिस्टहरुको एकतामा दक्षिणपन्थी कित्ताबाट प्रहार भएको आरोप लगाएका छन् । उनले दक्षिणपन्थी कित्ताले नै नेकपाको एकता समेत भाडेको बताए ।

आन्दोलनलाई एकताबद्ध गर्ने, देशमा राजनीतिक स्थायित्व र विकास तर्फ लैजाने जमर्को गरे पनि दक्षिणपन्थी कित्ताबाट प्रहार भएको र जसको परिणाम अहिलेको अवस्था बनेको उनको आरोप रहेको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको आरोप समेत लगाए ।

प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि उनको भनाई रहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान सहिदहरु कहिल्यै मर्ने छैनन् ।’

‘ती हजारौं सहिदहरु मरे भनेर प्रतिक्रियावादी सत्ताधारीहरुले यदि सोचेका छन् भने ती साह्रै ठूलो भ्रममा छन् । केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई म किच्न सक्छु भन्ने ठानेका छन् भने उनी साह्रै ठूलो भ्रममा छन् ।’ उनले भने ‘ओली छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने म सुझाव राख्न पनि चाहन्छु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री भएको बेला आफूले जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले बताए ।

उनले त्यसलाई औपचारिक स्वरुप दिने र सबै सहिदहरुलाई सम्मान गर्ने कुरा निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्