Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको कीर्ते सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरियो : भीम रावल

नेकपा दाहाल-नेपाल पक्षका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन भएको आरोप लगाएका छन् ।

आइतबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाए हुन् ।

रावलले संविधानसभामा संविधान निर्माणको समयमा बहुमतको सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्न नपाउने र सरकार बन्ने विकल्प हुँदासम्म त्यसको विकल्पमा जानुपर्ने कुरामा सबैको सहमति रहेको स्मरण गराए ।

रावलले सोही सहमति अनुरुप नेपालको संविधानमा व्यवस्था गरिएको भए पनि त्यस्तो स्पष्ट संवैधानिक व्यवस्थाको अपव्याख्या गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी देश र लोकतन्त्रलाई नै संकटमा पारेको बताए ।

कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरु एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा यथास्थितिमै राख्न हठात् प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए ।

रावलले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको जिकिर गर्दै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने टिप्पणीसमेत गरे ।

रावलले भने ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकतासम्बन्धी विवाद समाधान गर्छ’ ।

रावलले प्रतिनिधिसभा विघटनमार्फत लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै त्यसका विरुद्ध आफूहरुले खबरदारी गरिरहने बताए । सोही क्रममा माघ १७ गते धनगढीमा प्रदेशस्तरीय बृहत् प्रदर्शन र जनसभा हुने रावलले बताए ।

 

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्