Logo
५ जेष्ठ २०८१, शनिबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले अनुदानमा दिने कोरोना खोप भोलि नेपाल आइपुग्ने

भारतले अनुदानमा दिने कोरोना खोप भोलि (बिहिबार) नेपाल आइपुग्ने भएको छ । भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकमा कोरोनाभाइरसविरूद्धको भ्याक्सिन दिने भएको हो ।

मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा खोप दिन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार आज भुटान र माल्दिभ्समा खोप पठाइने छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइने छ।

नेपाल सरकारले अक्सफोर्ड-अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

भारतले नेपालमा कति खोप दिन लागेको हो भन्ने विस्तृत खुलाइएको छैन। भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए।

भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन्। भारतमा भने जनवरी १६ देखि खोप लगाउन सुरू गरिएको छ।

 

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्