Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ दूध उत्पादनमा आत्मनिर्भर बन्दै

प्रदेश नं १ दूध उत्पादनमा आत्मनिर्भर बन्दै छ ।‘दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आम नागरिकले ग्रहण गर्नसकेमा प्रदेश नं १ बाट ‘मिल्क होली डे’ समाप्त हुने अवस्था छ ।

शरीरका लागि अत्यधिक पोषिलो र लाभदायक मानिने दूध र दुग्धजन्य पदार्थको सेवनमा पछिल्लो समयमा मानिसहरु थप आकर्षित भएको पाइएको छ ।

आमनागरिकमा साकाहारी बन्ने र अर्गानिक खानेकुराको सेवन गर्ने बानीको विकास भएसँगै दूधको सेवन पनि बढ्न थालेको यस क्षेत्रका किसानको अनुभव छ ।

दूधबाट बन्ने परिकारतर्फ आकर्षित हुँदै मानिसहरुले पछिल्लो समयमा दूधभन्दा पनि दुग्धजन्य पदार्थहरु जस्तै दही, मिठाइ, पनिर, घिउमा अझ बढी जोड दिन थालेको पाइएको छ । दूध सेवन नगर्ने मानिसहरुले पनि चाडपर्वमा विभिन्न परिकार बनाउनका लागि दूधको प्रयोग भने गर्ने गरेको छन् । यसैकारणले पनि सो समयमा बजारमा दूध अभाव हुने गरेको पनि पाइएको छ ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका प्रदेश सरकारले गएको वर्षमा कृषि क्षेत्रको विकास गर्न रु ६१ करोड बजेट विनियोजन गरेको थियो । कृषकको हकहितका लागि आवश्यक निजी, सार्वजनिक र सहकारी अवधारणलाई अगाडि बढाएर कृषिजन्य उत्पादनको मात्रा बढाउने र यस प्रदेशमा कृषिको विकास गर्ने अवधारणा प्रदेश नं १ सरकारको रहेको छ ।

प्रदेश नं १ मा दूधमा देखिएको मिल्क होलि डे समस्यालाई समाधान गर्न दुग्धको पाउडर प्लान्ट बनाउने उद्देश्य लिएको प्रदेश सरकारले सुनसरीको तरहरामा यससम्बन्धी एक बृहत् आयोजना स्थापना गर्न लागेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । कूल रु ३२ करोडको लागतमा निर्माण गरिने सो आयोजनाका लागि प्रदेश सरकारले रु २० करोड अन्य रकम निजी वा सहकारी माध्यमबाट व्यहोर्ने पशुपक्षी महाशाखाका प्रमुख पशुपति ढुङ्गानाले जानकारी दिए ।

उनले यसका लागि विशिष्टिकृत सहकारी सङ्घ गठन भइसकेकाले अब छिट्टै यो परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने बताए । प्रदेश सरकारले यो सङ्घसँग सम्झौता गर्ने अवस्थामा परियोजनाको निम्ति आवश्यक गृहकार्य भइरहेको धारणा राखे ।

विगतमा कृषकले उत्पादन गरेको दूध बिक्री नहुने र किसानहरुले आयआर्जनका लागि गरेको पशुपालनबाट उत्पादित दूध बिक्री नहुँदा पेशा वा व्यवसायप्रति कृषकको मोह हट्ने भएकाले सरकारले पाउडर प्लान्टको अवधारणा ल्याएको छ । यो पाउडर प्लान्टले कृषकको दूध बिक्री नहुने समस्यालाई अन्त्य गर्ने विश्वास प्रदेश सरकारको रहँदै आएको छ ।

कामधेनु दुग्ध विकास सहकारीका व्यवस्थापक कृष्ण घिमिरेले उपभोक्ताको मागभन्दा ३० हजार लिटर दूध यस प्रदेशमा बढी भइरहेकाले दुग्धलाई खेर जान नदिन पाउडर प्लान्टको आवश्यकता छ र यो आवश्यकतालाई पूरा गर्न सरकारले पाउडर प्लान्ट बनाउने योजनालाई मूर्त रुप दिनुपर्ने आवश्यकतामा जोड दिए ।

सोही सहकारीका कार्यकारी निर्देशक गजेन्द्र बस्तीले १५ हजार लिटर दुग्ध दैनिक प्रशोधित हुने कामधेनुलाई अझ सेवा विस्तारमा लागेको जानकारी दिए । उनले हामीलाई सुनसरी, झापा, इलाम, धनकुटा र मोरङका कृषकबाट दुग्ध प्राप्त हुन्छ भने ।

कृषि उत्पादनलाई बढावा दिन आयातित हुने वस्तुमा नियन्त्रण हुनुपर्ने सहकारी पदाधिकारीको भनाईप्रति मन्त्रालय पनि सहमत भएपनि विदेशबाट भने दूधको पाउडर आउन रोकिएको छैन । यसले गर्दा विदेशी यस्ता दुग्धको गुणस्तर नहुने र सस्तोमा बजारमा पाउँदा उपभोक्ता पनि त्यही खरिद गर्ने भएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् ।

दुग्ध होली डेलाई समाप्त पार्न विराटनगरस्थितका दुग्ध विकास संस्थानले पनि पाउडर प्लान्ट सञ्चालन गरेको छ । बन्दाबन्दी भन्दा केही समय पहिले शुरु भएको पाउडर प्लान्टमा दैनिक छ मेट्रिक टन उत्पादन हुने गरेको प्रमुख गणेश यादवले जानकारी दिए । दुग्ध, घिउ, पनिर, दही, पेडा, लस्सीसमेत उत्पादन गरेर बिक्रीवितरण गरेको संस्थानको उत्पादनको बजार सुरक्षित राख्नु विदेशी वस्तु आयातमा रोक लगाउनुपर्ने धारणा प्रमुख यादवले राखे । यस क्षेत्रमा एक सरकारीसहित १८ वटा दुग्ध सहकारी संस्था रहेका छन् । सोमध्ये पाँच वटा मोरङमा नै रहेको बताइएको छ ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्