Logo
२३ बैशाख २०८१, आईतबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमबिबिएसको अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

कर्णाली प्रदेश अन्तरगत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन ।

जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए ।

उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेका अनुसार प्रतिष्ठानले एमबिबिएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पुरा गरिसकेको छ ।

उनले भने, “प्रतिष्ठान एमबिबिएस तहको पठन पाठन गर्न अनुमतिको प्रतिक्षामा छ । यस तहको पठन पाठनले दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन ।जनताले घर आगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।”

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले रु ६ अर्बको बहुवर्षीय योजना पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

उनले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमापुर्‍याउन उच्च प्राथमिता दिइ काम गरिरहेको जानकारी दिए । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीका अनुसार प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ ।

कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ श्ययाका अस्पतालको शिलान्यास समेत भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको पूर्वाधार र एमबिबिएसको लागि सहयोग गर्न सरकारसित अनुरोध गरे ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्