Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि सम्बन्धी ३ कानूनको विरोधमा प्रदर्शन गर्दै आएका किसानद्वारा आज भारत बन्द

छिमेकी देश भारतमा कृषि सम्बन्धी तीन कानूनको विरोधमा प्रदर्शन गर्दै आएका किसानले आज मंगलबार भारत बन्द गरेका छन् ।

केन्द्र सरकारले किसान विरोधी र व्यवसायिक घरानालाई हित हुने कानून ल्याएको भन्दै तीनै कानून फिर्ता हुनु पर्ने माग गर्दै आएका किसानले भारत बन्द आह्वान गरेका हुन् ।

अहिलेसम्म विभिन्न चरणमा भएका वार्तामा कुनै ठोस प्रगति भएको छैन । यहिबिचमा कानूनको विरोधमा किसानहरुले भारत बन्द गरेका हुन् ।

भारत बन्द मंगलबार बिहान १० बजे सुरु भएर दिउँसो ३ बजेसम्म कायम रहने तर त्यस बेला पनि आकश्मिक सेवाहरुमा कुनै पनि प्रकारको अवरोध नहुने किसान नेताहरुले बताएका छन् ।

पञ्जाब, हरियाणासहितका किसान झण्डै दुई हप्तादेखि दिल्ली चलो आन्दोलन अन्तर्गत राजधानी दिल्लीका विभिन्न सीमामा धर्नामा बसेका छन् । उनीहरुलाई सरकारले दिल्ली प्रवेश गर्न दिएको छैन ।

किसान नेताहरुले आफ्नो आन्दोलनको समर्थनमा आएका सबै राजनीतिक दलहरुसँग यसको राजनीतिक रुपमा प्रयोग नगर्न अपिल गरेका छन् ।

किसान युनियन (क्रान्तिकारी) का अध्यक्ष दर्शन पाल सिंहले भनेका छन्, ‘हामी बसै राजनीतिक दललाई हाम्रो मागमा समर्थन गरेकामा धन्यबाद दिन्छौँ । तर मंगलबारको भारत बन्दमा सबै दलले आफ्नो झण्डा–ब्यानर घरमै राखेर मात्रै किसानको समर्थन गरुन् ।’

किसानको भारत बन्दमा विभिन्न राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन्  । उनीहरुले किसानको माग सही रहेको बताएका छन् ।

कांग्रेस र वामपन्थी पार्टीहरुसहित क्षेत्रीय राजनीतिमा बलियो रहेका डिएमके, टिआरएस, सपा, बसपा, आरजेडी, शिवसेना, एनसीपी, अकाली दल, आप, जेएमएमसहित कम्तिमा २४ राजनीतिक दलले भारत बन्दको समर्थन गरेका छन् ।

गृह मन्त्रालयले सबै राज्य तथा केन्द्र शासित प्रदेशमा मंगलबारको बन्दको क्रममा शान्ति तथा संयम कामय राख्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्