Logo
३ असार २०८१, आईतबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप डिसेम्बरमा आउने, लगत्तै सर्वसाधारणले प्रयोग गर्न पाउने

बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्सले कोरोनाविरुद्ध बनाएको खोप एक महिनाभित्र नै आउने दाबी गरिएको छ ।

बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने दाबी गरेका हुन् ।

नियमन गर्ने निकायहरूले अनुमति दिएमा डिसेम्बरलगत्तै खोप सर्वसाधारणले प्रयोग गर्न पाउने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका हुन् ।

साउथ चाइना मर्निङ पोस्टले एस्ट्राजेनेकाका सिइओ सोरियटलाई उधृत गर्दै लेखेको छ, ‘नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांक निगरानी गरिरहेका छन् ।

हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ । अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन् ।’

बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी बेलायती र स्वीडिस कम्पनी एस्ट्राजेनेका खोप निर्माणमा जुटिरहेको छ ।

एस्ट्राजेनेकाले ल्याउने खोपप्रति संसारकै चासो बढेको छ । गत सेप्टेम्बरमै परीक्षणको तेस्रो चरणमा गएको यो खोप सर्वसाधारणमा उपलब्ध हुनसके कोभिड-१९ लाई नियन्त्रणमा लिन सकिने विश्वास वैज्ञानिकहरुको छ ।

खोप निर्माता कम्पनीले यो खोप कति पटकसम्म लगाउनुपर्दछ भन्ने यकिन नभएको भन्दै खोपले कस्तो काम गर्छ त्यसमा निर्भर हुने पनि बताएका छन् ।

एस्ट्राजेनेकाको खोप पाउनका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन् ।

कोभिड-१९ भाइरसविरुद्धको खोप बनाउन यो अलावा चीन, रुस, भारत, अमेरिका पनि जुटिरहेका छन् ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्