Logo
२९ असार २०८१, शुक्रबार
(July 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्‍याइदिए

२४ असार, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो ।

हुन त ३ दिनअघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो । तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि पेट अलि बढ्तै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई सम्पर्क गरिन् । उनीहरुले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे ।

बाहिर झरी रोकिएको थिएन । रात परिसकेकाले गाडीमा स्वास्थ्यचौकीमा जाने सम्भावना पनि थिएन । माइती घरबाट उनी ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । उनी स्वास्थ्यचौकी पुग्दा रातको ८ बजिसकेको थियो ।

त्यसैदिन राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उनलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले गाडी चलेका थिएनन् । उनलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही तयार भएनन् । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्मै पुर्‍याइदिए ।

‘स्वास्थ्य चौकीमा गाउँका अरु मान्छेहरु पनि थिए । उनीहरुलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार भएनन्,’ जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) टुकाराम पोख्रेल भन्छन्, ‘त्यसपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्‍याइदियौं ।’

जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोकेका थिए । भिडियोमा उनीहरुले कहिले खालीखुट्टा त कहिले चप्पल लगाएर सुत्केरी बोकेर हिँडेको देखिन्छ ।

जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएकी थिइन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । त्यसैले उनी माइतमा बस्दै आएकी थिइन् ।

स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेल एक मात्र पुरुष कर्मचारी हुन् । अहेब, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी सबै महिलामात्र छन् ।

‘पानी बिदो भएपछि अब सुत्केरीलाई घर लैजान सक्नुहुन्छ भन्यौं । उहाँले आफैं हिँडेर जान्छु पो भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत गर्‍यौं,’ जनस्वास्थ्य निरीक्षक पोख्रेलले भने, ‘सुरुमा मैले अगाडिबाट दुबै काँध थापेँ । पछाडितिर महिला कर्मचारीहरुलाई बोक्न भनें । पछि आलोपालो गरियो ।’

विकलाई बोक्न तयार भएनन् गाउँले

प्युठानको मल्लरानी ३ मा रहेको धरमपानी स्वास्थ्य चौकीमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १, प्युठानको मल्लरानी गाउँपालिकाकै वडा नम्बर २ र ऐरावती गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दाले पनि सेवा लिने गर्दछन् ।

यो स्वास्थ्य चौकी प्युठानको चुजाठाँटी बजार नजिकै पर्छ । जिवाको घर जाँदा त्यही बजारको बाटो हुँदै जानुपर्छ । स्वास्थ्य चौकीमा आएका व्यक्तिहरुले बोक्न नमाने पनि बजारबाट कसै न कसैले पक्कै काँध थापेर साथ देलान् भन्ने लागेको थियो स्वास्थ्यकर्मीहरुलाई । तर, बजार क्षेत्रबाट पनि कोही सहयोगी निस्किएन् ।

‘महिला कर्मचारीहरुले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो । तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,’ पोख्रेलले भने ।

जिवा विक दलित भएर बोक्न स्थानीय नआएका हुन् वा त्यसमा अन्य कारण पनि छ स्वास्थ्यकर्मीहरुलाई थाहा छैन । तर स्थानीयका अनुसार गाउँमा पुरुष र युवाहरुको अभाव छ । भएका केही व्यक्तिहरु पनि खेतीपातीको समय भएकाले व्यस्त थिए ।

‘हामीले बोकेर लैजान्छौं भन्दा म आफैं हिँडेर जान्छु भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई रक्तश्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौं’, सुत्केरी जिवा विकलाई बोकेकी अनमी पार्वता पुन भन्छिन् ।

उनका अनुसार धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जिवाको घर करिब एक घण्टाको दूरीमा छ । उनको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नुपर्छ । पानी परेकाले गोरेटो बाटो चिप्लो थियो ।

‘६० केजीकी जिवालाई बोकेर हिँड्न निकै सकस भएको थियो । बीचमा त म आफैं लडेँ तर स्टेचरबाट सुत्केरीलाई खस्न दिइएन,’ जनस्वास्थ्य निरीक्षक पोख्रेल भन्छन्, ‘जसोतसो सकुशल घरसम्म पुर्‍याउँदा हामीलाई पनि आनन्द लाग्यो । तर स्वास्थ्यचौकी फर्किंदा हामीलाई पानीले रुझायो ।’

करिब आठ वर्षदेखि अनमी पदमा कार्यरत पार्वताका लागि सुत्केरीलाई बोकेर घरैसम्म पुर्‍याइदिएको पहिलो अनुभव हो । भन्छिन्, ‘हामीले केहीबेर दुःख पाए पनि सुत्केरी र शिशु दुवै स्वस्थ हुनुहुन्छ भन्ने कुरा सुनेका छौं । त्यही थाहा पाउँदा पनि आनन्द लाग्छ ।’

अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाएझैं लागिरहेको जिवाले अनलाइनखबरसँग अनुभव साटिन् । ‘मेरो टिठ देखेर उहाँहरु (स्वास्थ्यकर्मी)ले सहयोग गर्नुभयो । तपाईंको कोही छैन भनेर पीर नगर्नुस् हामी छौं भन्नुभयो’, उनले भनिन्, ‘नयाँ जिन्दगी सुरु गरेकोजस्तो लागेको छ, उहाँहरुलाई धेरैधेरै धन्यवाद छ ।’

(प्युठानबाट सलिम मियाको सहयोगमा)

प्रकाशित मिति: Jul 8, 2024

प्रतिक्रिया दिनुहोस्