Logo
१५ बैशाख २०८१, शनिबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना जोखिम कम गर्न महोत्तरीमा दसैंभर निषेधाज्ञा जारी

प्रदेश नं २ स्थित  जिल्ला प्रशासन कार्यालय महोत्तरीले विजयादशमी, दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा मानिसहरुको आवागमन तथा जमघटका कारण कोरोना संक्रमणको जोखिम बढ्नसक्ने खतरा रहेको भन्दै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

कोरोना जोखिम कम गर्न महोत्तरीमा घटस्थापना देखि नवमीसम्म निषेधाज्ञा जारी भएको हो ।निषेध आदेश खुकुलो पारेको एक महिनापछि आइतबार पुनः निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।

दशैंमा घटस्थापनादेखि नवमी तिथीसम्म जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुको पण्डालमा सर्वसाधारणको भीड अत्यधिक हुने भएकोले कोरोना संक्रमणको फैलिदों जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निर्णय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि जमघट नगर्न सर्वसाधारणलाई सीडीओ कटुवालले आग्रह गरेका छन् ।

साथै चाडपर्व मनाउँदा एउटै घरमा बस्दै आएका परिवारका सदस्यहरु बिच मात्र मनाउन, अनावश्यक हिंडडुल नगर्न, भेला तथा जमघट हुने स्थानमा नजान तथा स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्