Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ बनाइएको अवस्थामा भेटियो चीनतर्फको हराएको भनिएको १२ नम्बर पिलर

कर्णाली प्रदेश स्थित हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको अवस्थामा पाइएको छ। १२ नम्बर पिलर नयाँ बनाइएकै ठाउँमा पुरानो पिलरका टुक्रा र बालुवा पनि भेटिएको छ।

यद्यपी काठमाडौँमा नापी विभागले भने १५ वर्षयता नेपाल र चीनबीचको सीमामा कुनै पनि पिलर पुर्निनिर्माण नगरेको जानकारी दिएको छ।

सीमा निरीक्षणका लागि हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले सीमा स्तम्भ पुनर्निर्माण गरेको पाएको हो।

स्थलगत रिपोर्टिङका क्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेना लामाले पुरानो सीमा स्तम्भलाई भत्काएर नयाँ बनाएको देखिएको जानकारी दिइन्।

यही महिना लाप्चा क्षेत्रको ललुङजोङमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीसहितको प्राविधिक टोली ललुङजोङ पुगेर स्थलगत अध्ययन गरेको थियो।

अध्ययनपछि चीनले आफ्नै भुभागमा भवन बनाएको पुष्टि भएको सिडीओ गिरीले बताएका छन्। परराष्ट्र मन्त्रालयले पनि नेपाली भूमि चीनले भवन बनाउँदा अतिक्रमण नभएको बताउँदै आएको छ।

सीमा क्षेत्रको स्थलगत अनुगमनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, संविधानसभा सदस्य रिता शाही, कांग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकाय अहिले यस क्षेत्रमा छन्।

टोलीसँगै यहाँ आइपुगेका स्थानीयले पनि सीमा स्तम्भ नयाँ बनाएको पाइएको जानकारी दिएका छन्। वस्तीबाट टाढा रहेकाले कहिले पुनःनिर्माण गरियो भन्ने यकीन नभएको उनीहरुले बताए।

नापी विभागले चीनतर्फको सीमा स्तम्भ मर्मतका लागि १५ वर्षदेखि कुनै टोली नखटिएको जानकारी दिएको छ।

विभागका सूचना अधिकारी दामोदर ढकालले सन् २००५र६ पछि सरकारले चीनतर्फको सीमा मर्मत, रंगरोगन गर्नका लागि सर्वेक्षकको टोली नपठाएको जानकारी दिए।

विभागका सूचना अधिकारी ढकालले एक पक्षीय रुपमा कुनै पनि देशले सीमाबारे सामान्य काम पनि गर्न नपाउने बताए।

तस्विर सौजन्य : देशसञ्चार

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्