Logo
५ जेष्ठ २०८१, शनिबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमती र ड्राइभरको सहयोगमा मलेसियामा नेपालीलाई बन्धक बनाई १६ लाख असुल्ने श्रेष्ठ पक्राउ

वैदशिक रोजगारी मूलक मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपालको प्रदेश १ स्थित मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठले दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।

मलेसियामा टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने दुर्गाबहादुर श्रेष्ठले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा मलेसियामै काम गर्ने रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए ।

रैदासलाई ७ दिनसम्म बन्धक बनाई उनकी श्रीमतीलाई फोन गरी हिमालयन बैंकको खातामा ६० हजार रिङ्गिट हालेमा मात्र श्रीमानको ज्यान रहने भन्दै दुर्गाबहादुरले धम्की दिएका थिए ।

रैदासकी श्रीमतीले पटक-पटक गरी १५ लाख ९२ हजार आफ्नो खातामा हालिदिएपछि मात्रै दुर्गाबहादुरले अपहरणमुक्त गरेका थिए । उनले रैदासको राहदानीसमेत आफ्नो कब्जामा लिई उनलाई नेपाल आउन दिएका थिएनन् ।

पीडितकी श्रीमतीको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो ।

त्यसैका आधारमा खोजतलास गर्दा उनलाई असोज १३ गते काठमाडौंको कान्ती बाल अस्पतालनजिकबाट बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए ।

साथै दुर्गाबहादुरले मलेसियामा काम गर्न गएका अन्य नेपाली कामदारलाई समेत धम्काई कुटपिट गरेको पनि खुल्न आएको प्रहरीले बताएको छ ।

अन्य व्यक्तिलाई समेत मध्म रैदासलाई गरेजस्तै अपराध गरेको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्