Logo
१६ बैशाख २०८१, आईतबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकर्णेश्वर महादेव मन्दिरमा मन्दिरमा बाबुको मुख हेर्ने मेला स्थगित

गोकर्णेश्वर नगरपालिकाले वडा नं -४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ ।

बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको छ ।

नगरपालिकाको निर्णयअनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा नं-४ को अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ । बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।

यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्रकृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ ।

मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गरेको थियो । यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।

अरुको घरमा डेरा गरी बसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ । उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ ।

जसलाई महत्वका साथ पुजिन्छ । शास्त्रीय एवं पौराणिकरुपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवं सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरहनुभएका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताए ।

गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो ।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि रु ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना शुरु भएको छ ।

कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।

विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदिशप्रसाद भट्टले जानकारी दिए ।

भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर क्षेत्र वरपर हजारौँ मानिस दिवङ्गत पितृप्रति सम्मान गर्न उपस्थित हुने गरेका थिए ।

कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि चाडपर्व, मेला, जात्रामा हुने भीडभाड यस वर्ष बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत रोकिएको छ ।

यसैगरी इन्द्रजात्रा पनि स्थगित गरिएको छ ।हरितालिका (तीज) पर्वसमेत तामझामका साथ नगर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि भदौ ९ गतेसम्मका लागि बन्द रहने नगर प्रमुख चालिसेले जानकारी दिए ।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्