Logo
२४ बैशाख २०८१, सोमबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविद्वारा सेमेस्टरका विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय

त्रिभुवन विश्वविद्यालयले सेमेस्टरका विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने सो अन्य परीक्षा अनुकूल समयमा लिने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको हो ।

विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।

त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिए ।

यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ ।

यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ ।

कोरोना भाइरसका कारण स्थगित परीक्षा तत्काल लिन नसकिने अवस्था देखिएपछि विकल्पका रूपमा केही समयपछि परीक्षा गर्ने गरी पठनपाठनको बाटो खोलिएको जानकारी डीन कार्यालयले दिएको छ ।

उपत्यका बाहिरका धेरै क्याम्पस पनि सेमेस्टर प्रणालीमा गएका कारण यसबाट धेरै विद्यार्थी लाभान्वित हुने र विश्वविद्यालयको शैक्षिक कार्यक्रमले पनि निरन्तरता पाउने जनाइएको छ ।

यसको जानकारी सम्बद्ध क्याम्पसलाई दिइएको र अब छिट्टै नै कक्षा सुरु हुने जनाइएको छ ।यसअघि विश्वविद्यालयले कोरोना भाइरसको अवस्था सामान्य हुन सकेको अवस्थामा भदौ पहिलो साताबाट परीक्षा सुरु गर्ने र स्थगित परीक्षा दशैँअघि गर्ने निर्णय गरेको थियो ।

त्यसपछि नियमित परीक्षा सञ्चालन गर्ने योजना विश्वविद्यालयले बनाएको थियो तर त्यो निर्णय कार्यान्वयन हुन नसकेपछि विश्वविद्यालयले नयाँ बाटो खोलेको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्