Logo
१८ बैशाख २०८१, मंगलबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार २६ देखि २९ गतेसम्म बाढीको जोखिम, सतर्कता अपनाउन मौसमविदको आग्रह

जल तथा मौसम विज्ञान विभागले असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा पानीको बहाव सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने जनाएको छ ।

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

अबको चार दिनपछि अर्थात शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ ।कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।

विभागले पू्र्वसावधानी अपनाउन समेत आग्रह गरेको छ । त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न अनुरोध गरेको छ ।

यस्तै प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।

अहिले मनसुनमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले सुरुमै कुन कुन क्षेत्रमा असर गर्न सक्छ भन्ने कुरा जानकारी दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

यसैबीच आज बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले पनि यी ठाउँहरुमा पानी परिरहेको भए पनि दिउँसो रोकिने र बेलुका फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनसार दिनभर घाम लाग्दै बादल लाग्ने क्रम चलिरहन्छ ।अरु ठाउँमा भने आज दिनभर सामान्यतया बदली रहेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

रातिदेखि नै पानी परेका पहाडी भेगमा पहिरो र तराई तथा पानीको राम्रोसँग निकास नभएको ठाउँमा डुबानको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्