Logo
५ जेष्ठ २०८१, शनिबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा भित्रको आन्तरिक कलहले संसद् अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस रुष्ट

पार्टीभित्रको झगडाका कारण प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस रुष्ट बनेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरजिम्मेवार रहेको भन्दै आक्रोस पोखेको हो ।

पार्टीभित्रको झगडा सामना गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्नु जनताप्रतिको विश्वास र भरोसामाथि प्रहार भएको कांग्रेसले बताएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकार, नेकपा र स्वयम् प्रधानमन्त्रीलाई भलो नहुने बताए ।

‘आफ्नो पार्टीभित्रको आन्तरिक झगडाको व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिलो सिकारका रूपमा संघीय सदनलाई बनाउनुभयो। यसले उहाँलाई मात्र होइन सत्तारूढ नेकपा र सरकारलाई फाइदा गर्दैन,’ खाँणले बताए ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले संसद अधिवेशन आजै बेलुकी ५ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गरिसकेको छ ।

मन्त्रिपरिषद बैठकले संसदमा बिजनेश पनि नभएको र कोरोना महामारी रहेको भन्दै अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेको थियो । कांग्रेसका सांसद मीनेन्द्र रिजालले नेकपाभित्रको आन्तरिक झगडाले संसद अधिवेशन अन्त्य गर्नु राम्रो नभएको बताए ।

‘पार्टीभित्रको आन्तरिक द्वन्द्वको कारण सदनको अधिवेशन अन्त्य गर्ने कुरा सरकारले गरेको सुनियो, यो राम्रो होइन,’ सांसद रिजालले बताए ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्