Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियाको क्वान्टास एयरले ६ हजार कामदार हटाउने

अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ ।

कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा बिमान पनि संचालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अलान जोएसले कम्पनीको इतिहासमै यस वर्ष सबैभन्दा ठूलो संकटको सामना गर्नु परेको बताएका छन् ।

उनले कम्पनीका आधाभन्दा बढी कर्मचारी अर्थात् करिब २३ हजार कर्मचारीलाई पनि विदामा बस्न भनिएको जानकारी दिए ।

कोरोना महामारीका कारण क्वान्टासले आफ्ना सबैजसो अन्तर्राष्ट्रिय उडान कम्तीमा आगामी अक्टोबरसम्मका लागि रद्द गरेको जनाएको छ ।

कम्पनीले घरेलु उडान पनि सीमित मात्र गरिएको बताएको छ । अस्ट्रेलियाका अधिकाँश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् ।

तर अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने देखिएको छ ।

अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एकाएक कोरोनाभाइरस देखिएसँगै यसको प्रभाव सहजै अन्त्य हुन नसक्ने दृष्टान्त देखाएको छ ।

क्वान्टासका कार्यकारी जोएसले आगामी केही वर्षसम्म कम्पनीको राजश्वमा ठूलै कमी आउने बताउँदै आफ्नो कम्पनी केही समय सानो विमान सेवाका रुपमा खुम्चिने सम्भावना रहेको छ भनेका छन् ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्