Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौलिक हकको रूपमा रहेको आवासको हक सम्बन्धी नियमावली तयार हुँदै

मौलिक हकका रूपमा संविधानमा पहिलोपटक
व्यवस्था गरिएको आवासको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र नियमावली तयार हुने भएको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव एवं नियमावली मस्यौदा समितिका संयोजक नवराज प्याकुरेलका अनुसार नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय संसदका दुवै सदनबाट पारित भएको आवासको हकसम्बन्धी ऐन २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गर्नुभएको थियो ।

ऐनका कतिपय दफामा लेखिएको तोकिएबमोजिम भन्ने विषयलाई नियमावलीले व्याख्या गर्छ । ऐन प्रमाणीकरण भएर कार्यान्वयनमा आयो भनिएको डेढ वर्षसम्म पनि नियमावली नबन्दा कानूनी अप्ठ्यारा आउने गरेका छन् ।

चैत दोस्रो सातामै तयार हुने गरी नियमावली मस्यौदाको काम अघि बढाइए पनि चैत ११ गतेदेखि लागु बन्दाबन्दीका कारण ढिला भएको मन्त्रालयले जनाएको छ ।

मस्यौदा तयार पारी अर्थ, कानून र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सुझाव प्राप्त भइसकेको छ । ती सुझावलाई मिलाएर मन्त्रीस्तरीय निर्णय गरी नियमावलीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने गरी तयारी गरिएको उनले बताए ।

मन्त्रालयको आवास, भवन तथा योजना महाशाखा प्रमुख रहनुभएका सहसचिव प्याकुरेलको संयोजकत्वमा नियमावली मस्यौदा भएको हो ।

संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा पहिलोपटक मौलिक हकका रूपमा आवासको हकसम्बन्धी व्यवस्था गरिए पनि नियमावलीको अभावमा कार्यान्वयन हुन सकेको छैन ।

आवासको हक कार्यान्वयनका लागि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जनाइएको छ ।

विगतमा मन्त्रालयले सञ्चालन गरेको जनता आवास कार्यक्रम गत आर्थिक वर्षदेखि प्रदेश सरकारअन्तर्गत कार्यान्वयनमा छ ।

यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम पनि कार्यान्वयनको चरणमा रहेको मन्त्रालयका सूचना अधिकारी सुरेश वाग्लेले बताए ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्