Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको आपत्ति : ‘कालान्तरमा देशलाई विभाजन गर्ने आरोप’

काठमाडौं : नागरिकता विधेयक सम्बन्धमा सत्तारुढ दल नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नागरिकता विधेयक सम्बन्धमा सत्तारुढ दल नेकपाले गरेको निर्णय अदूरदर्शी, अपरिपक्व र कालान्तरमा देशलाई विभाजन गर्नेखालको भएको आरोप लगाए ।

सांसद देवले नेकपाको निर्णय मन्डले र प्रतिक्रान्ति मानसिकताको उपज भएको भन्दै सत्तारुढ दलका पछिल्ला गतिविधि र निर्णयले भारतसँग सम्बन्ध तोडेर चीनको ‘क्याम्प’मा गएको भन्ने सन्देश दिएको टिप्पणी गरे ।

उनले सरकार र सत्तारुढ दलको गतिविधिले मुलुक राजनीतिक दुर्घटनामा जाने चेतावनी दिए ।सांसद देवले बोलेलगत्तै सत्तारुढ दल नेकपाका सांसद परशुराम मेधी गुरुङले नियमापत्ति जनाएका थिए ।

यस्तै, राजपाका सांसद मृगेन्द्रकुमार सिंह सत्तारुढ दलले बहुमतको दम्भ देखाएर समितिबाट नागरिकता विधेयक पारित गरेको भन्दै यसले मुलुकमा राजनीतिक मुठभेड निम्तिने चेतावनी दिए ।

आइतबारमात्र प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिलालाई सात वर्षपछिमात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थासहित पारित गरेको थियो ।

यस्तै, सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र दाहालले संसदमा सांसदहरुले उठाएको विषयप्रति सरकार र सम्बन्धित मन्त्रीले चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राजपा सांसद शेखरकुमार सिंहले वर्षेनि तराई तथा मधेसका जिल्लाहरुमा हात्तीले किसानलाई दु:ख दिइएरहेको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्